चोरी गरेको मोटरसाइकल सहित झापाबाट तीन जना पक्राउ

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ०७:०९ मा प्रकाशित

झापा । झापाका विभिन्न स्थानबाट चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी, इलाम सूर्योदय नगरपालिका–९ बस्ने २१ वर्षीय आशिष सुब्बा र सोही नगरपालिका–८ बस्ने २१ वर्षीय विवेक घिमिरे रहेका छन् । 

झापा जिल्लाबाट हराएका तथा चोरी भएका मोटरसाईकलहरुको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरी गरेको मे ६ प २५०५ र मे.११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।  

उनीहरू उपर जिल्ला अदालत झापाबाट ७ दिन  म्याद थप गरी आवश्यक कानुनी कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।