इटहरी रेडक्रसले आफ्नो दोस्रो भवन बनाउँदै

न्युजलय २८ पुस २०८०, शनिवार ०१:२४ मा प्रकाशित

इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको नयाँ भवन शिलान्यास गरिएको छ । इटहरी ४ स्थित रेडक्रस चोकमा रहेको आफ्नो जग्गामा उपशाखाले बनाउन लागेको सभाहलको शिलान्यास गरिएको हो । 

संस्थाको २६औं वार्षिक साधारणसभाको अवसरमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले शिलान्यास गरेका हुन् । भवन निर्माणको लागि इटहरी उपमहानगरपालिकाले १५ लाख रुपैया सहयोग गरेको छ । थप रकमका लागि सहयोग अभियान चलाइएको छ । विभिन्न व्यक्तिहरुले भवन निर्माणको लागि आर्थिक र भौतिक सहयोग गरिरहेको र सबैको सहयोगमा भवन निर्माण सम्पन्न हुने रेडक्रस इटहरीका अध्यक्ष समाजसेवी दिनेश भट्टराईले जानकारी दिए । उनले इटहरी उपमहानगरपालिकाको थप र विशेष सहयोगको समेत अपेक्षा रहेको बताए ।

इटहरी रेडक्रसले गरेको कामहरुको प्रसंसा गर्दै मेयर पौडेलले इटहरीवासीको हित प्रबद्र्धन गर्ने कार्यमा उपमहानगरपालिकाले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाको विशिस्ट आतिथ्यमा सम्पन्न भएको थियो । 

कार्यक्रममा हालै रेडक्रसको यसस्कर र विशिष्ट सदस्यता प्राप्त गर्ने ४७ जना सदस्यहरुलाई पिन तथा प्रमाणपत्र र गाम्चाद्वारा सम्मान गरिएको थियो ।

इटहरी रेडक्रसको यो दोस्रो भवन बन्न लागेको हो । पहिलो दुई तले भवन इटहरी ६ स्थित टेंग्रा खोला छेउमा रहेको छ । नयाँ भवनलाईसमेत संस्थागत तथा सामुदायिक प्रयोजनमा लगाउने अध्यक्ष भट्टराईले बताए ।