दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ

न्युजलय २७ माघ २०७८, बिहिबार ०१:४४ मा प्रकाशित

काठमाडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपैयाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार  बसेको  सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । 


यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको  मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी  डीडीसीलाई दिएको थियो ।


डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि  प्रशोधित दूधको उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपैयाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ । 


उद्योगीले प्रतिलिटर १० रुपैयाँ वृद्धि  गर्नुपर्ने माग गरेका थिए । १० रुपैयाँमध्ये सात रुपैयाँ किसानको हुने र तीन रुपैयाँ उद्योगीको हुने पस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो ।