अचेत अवस्थामा फेला परेका उदयपुरका दुई जनाको मृत्यु

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०६:२६ मा प्रकाशित

काठमाण्डौ । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय गणेश मगर र उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङ  छन्।

नाम थर नखुलेका अर्का एक व्यक्तिको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मगर ट्वाइलेटमा शुक्रबार राति अचेत अवस्थामा फेला परेका थिए।

श्रीमती र स्थानीयले मगरलाई कोरियन अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको परिसरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

यस्तै परिसरका अनुसार बिहान कटारीका ३५ वर्षीय सुरज तामाङ मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि अचेत अवस्थामा फेला परेका थिए।

घोप्टो परेको अवस्थामा अचेत फेला परेका उनलाई कोरियन अस्पताल लगिएकोमा मृत्यु भएको बताइएको छ ।। ठिमी वृत्तको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

शनिबार नै बिहान सूर्यविनायक नगरपालिका–९ नङखेलस्थित भाराली खोलामा एक पुरूषको शव फेला परेको छ।

करिब ४४–४५ वर्षको देखिने गोरो वर्ण र उचाइ ५ फिट भएका ती पुरूषको नाम थर खुलेको छैन। महानगरीय प्रहरी वृत्त जगातीको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ।