विराटनगर । एक शिशु अस्पतालबाटै गायब भएको घटना बाहिरिएको छ । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा प्रसूति गराउन भर्ना भएकी एक युवतीले सकुशल शिशुलाई जन्माएकी थिइन् । तर, उनको नवजात शिशु अस्पतालबाटै बेपत्ता भएको घटना बाहिरिएको हो ।
ब्वाइफ्रेन्ड र डाक्टरको मिलेमतोमा शिशुलाई गायब गरिएको भन्दै उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् । उनले साउन ३२ गते जाहेरी दिएपछि प्रहरीले प्रसूति गराउन ल्याउने ब्वाइफ्रेन्ड भोजपुर हतुवागढीका गोविन्द राई र उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णलाई पक्राउ गरेको छ ।
डाक्टर कर्ण भने बिरामी भएर अस्पताल भर्ना भएका कारण थप विवरण आइ नसकेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
विराटनगरस्थित ग्रीनक्रस हस्पिटल विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको हो । राई भने २६ वर्षीय ती किशोरीका प्रेमी हुन् । असार १३ गते किशोरीले ग्रीनक्रस हस्पिटलमा नवजात शिशु (छोरी)लाई जन्म दिएकी थिइन् । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
दुई जनाबिचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई उपचारका लागि भन्दै विराटनगर लिएर आएका थिए । सुरुमा उनले ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए । उक्त क्लिनिक डाक्टर कर्णको हो । कर्णले नै ती युवतीलाई ग्रीन क्रस अस्पतालमा भर्ना गर्न भनेका थिए । सोही अनुसार किशोरीका प्रेमी गोविन्दले ३५ हजार रुपैयाँ दिएर प्रसूति गराएका थिए ।
उनीहरुबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिएको बताइएको छ । तर, गोविन्दको बयान लिएको प्रहरीले डाक्टर कर्णको भने बयान लिन सकेको छैन ।
प्रहरीलाई गोविन्दले आफूले शिशु नलिएको बयान दिएका छन् । अस्पताल प्रशासनले भने अभिभावकलाई नै बच्चा जिम्मा लगाएको जनाएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ ।
ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।
‘बच्चा बिना नै टेम्पोमा राखेर गोविन्दले मलाई इटहरी पुर्याउनुभयो । बसपार्क छेउको होटलमा कोठा लिएर राख्नु भयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो । दुई दिनपछि मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनु भयो । त्यसपछि फर्किएर आउनु भएन । होटलको नाम मलाई थाहा छैन,’ युवतीले भनिन् ।
होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको युवतीले प्रहरीलाई बताएकी छन् ।
‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरुले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परेँ । धेरै पीडा सहेर बसेँ ।’
बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको गुनासो उनको छ ।
होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।