इटहरीबाट संखुवासभा तर्फ जाँदै गरेको ट्रक पाख्रीबासमा दुर्घटना, ६ जना घाइते

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०१:२५ मा प्रकाशित

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ५ गुरासेमा आइतबार दिउँसो ट्रक दुर्घटना भएको छ । इटहरीबाट रड बोकेर संखुवासभा खाँदबारी तर्फ जाँदै गरेको ना ८ ख ३१३५ नं को ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।


घाइते भएको ६ जना मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते हुनेहरुमा पाख्रीवास ५ डिकुरेका अन्दाजी ९ वर्षका दिप्सन तामाङ, सोही स्थानका वर्ष ४४ की धनमाया तामाङ र वर्ष २५ की विपना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।


त्यस्तै, ट्रकका चालक बाराको सिमरा घर भएका वर्ष ३९ का सरोज कुमार कुर्मी, सोही स्थानका वर्ष २२ का मोहन श्रेष्ठ, वर्ष १८ का जितेन्द्र पटेल सामान्य घाईते भएको प्रहरीले जनाएको छ । दूर्घटनामा परेकाहरुलाई नेपाल प्रहरी र स्थानियले उद्धार गरेका थिए । घाईते हुनेहरु मध्ये चालक र सह चालक वाहेक अन्यले लिफ्ट मागेर ट्रककामा सवार थिए । ट्रक सडकको ट्रनिङबाट १०० मिटर तल बारीमा खसेको थियो ।