काठमाडौं । स्थानीय तहको निर्वाचनमा चितवन पुगेर आफ्नी छोरी उम्मेदवारलाई जिताउन धम्की दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक काँग्रेस पार्टीलाई धम्की दिएका छन् । संघ र प्रदेशको चुनावमा दोस्रो ठूलो पार्टी नबनाए ठिक नहुने भन्दै धम्की दिएका हुन् ।
शनिबार पार्टीको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए । स्थानीय तहको जस्तो गडबड नहुने बताउँदै उनले भने, ‘कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ, यो पटक स्थानीय तहमा जस्तो हुन दिइँदैन ।’
संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले टिकट वितरणमा केन्द्रिय समितिको नियन्त्रण हुने भएकोले सहज हुने बताए ।