नेपाल विश्वकपमा छनोट

न्युजलय १७ कार्तिक २०८०, शुक्रबार ०८:१३ मा प्रकाशित

काठमाडौ । यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ ।


शुक्रबार भएको सेमिफाइलनमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । यससँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकपमासमेत छनोट भएको छ ।


नेपाल १० वर्षपछि दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो।

 यूएईलाई हराउँदै नेपाल र बहराइनलाई हराउँदै ओमन विश्वकपमा छनोट भएका छन् । नेपाल र ओमान बिच फाइनल खेल हुनेछ ।


यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ६३ रन बनाए ।


त्यस्तै, रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए ।


यूएईका लागि निलांश केशवानी र बसिल हमीदले एक एक विकेट लिए।


यसअघि ब्याटिङ गरेको यूएईले नौ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । यूएईका लागि भृत्य अरविन्दले ६४, मोहम्मद वासीमले २६, अलिशान शरफुले १६ र आसिफ खानले १३ रन बनाए । नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए ।


त्यस्तै, त्रिवि क्रिकेट मैदानमा भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमन विश्वकपमा छनोट भएको हो । बहराइनले दिएको १०७ रनको लक्ष्य ओमनले १४.१ ओभरमा पूरा गरेको हो ।