१० जना विद्यार्थीको शव नेपाल ल्याउन लाग्ने खर्च इजरायलले बेहोर्ने

न्युजलय २८ असोज २०८०, आइतबार ११:०४ मा प्रकाशित

काठमाडौँ । इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ । 


गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन ढिलाइ भइरहेको छ । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने भएको हो ।



शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् । तर, इजरायल सरकारले नै पठाउने भएको हो । इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो । 



यसअघि शुक्रबार राति २५४ जना नेपाली विद्यार्थीको उद्धार गरिएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुगेका थिए । त्यहाँ रहँदा विमानस्थलमा इजरायल विदेश मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग भेट गरेका थिए । 


उक्त भेटको क्रममा युद्धको अवस्थाका विषयमा जानकारी लिएका थिए । त्यस्तै नेपालीहरुको शव नेपाल पठाउने विषयमा समेत कुरा गरेका थिए । त्यही क्रममा इजरायली अधिकारीहरुले इजरायली सुरक्षाकर्मी, सर्वसाधारण, विभिन्न देशका नागरिक मात्र नभई आतंकवादीको समेत मृत्यु भएकाले शव पहिचानमा समस्या भएको जानकारी दिएका थिए ।


त्यसैले शव हस्तान्तरणमा ढिलाई भएको र जति सक्दो चाँडो नेपाल पठाउने व्यवस्था मिलाइने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका थिए ।