बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, सेवा प्रभावित

न्युजलय १० माघ २०७८, सोमबार ०६:४२ मा प्रकाशित

धरान । धरानस्थित बीपी प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।

ठुलो  संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो । 

संक्रमित हुने चिकित्सक, नर्स र हेल्परको संख्या क्लिनिकल क्षेत्रका मात्र हुन् ।

प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा विकास साहका अनुसार संक्रमित चिकित्सक मध्ये सबैभन्दा बढी एनेस्थेसिया विभागका ११ जना र ५ जना प्राविधिक संक्रमित भएका छन् ।

चिकित्सक, नर्स र प्राविधिकहरु संक्रमित भएपछि उनीहरु सबै हाल होम क्वारेन्टिनमा छन् ।

प्रतिष्ठानले गर्दै आएको नियमित शल्यक्रिया भने केही दिनलाई सारिएको छ । शल्यक्रियाका गर्ने सर्जरी विभागका चिकित्सकहरु मध्ये नौ जना र शल्यक्रिया गर्नु अघि गर्नुपर्ने बेहोसीको जाँच गर्ने चिकित्सक ११ जना र प्राविधिकहरु ५ जना एकैपटक संक्रमित भएपछि सेवा प्रभावित भएको हो ।