काठमाडौं । बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।
बासगढी नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार(आज) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायात प्रालिको ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरका टोली घटनास्थनमा पुगेको थियो। घटनापश्चात प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेका हुन्।
घाइतेको उपचारको लागि कौशिल्या अस्पताल बासगढीमा लगिएको छ। गम्भीर भएका ११ जनालाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाएको प्रहरीले जनाएको छ ।
चालक किसन सिंह खत्रीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनसुन्धान अगाडि बढाएको छ।