काठमाडौ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरेका छन् ।
शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित १० औं अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरेर अर्को रेकर्ड राख्न सफल भएका हुन् ।
अन्नपूर्ण प्रथमको सफल आरोहणसँगै उनले विश्वका ८ हजार मिटर अग्ला विभिन्न हिमालको ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेका हुन् ।
अब उनले तिब्बतमा रहेको सिसापाङ्मा हिमाल मात्र बिना अक्सिजन आरोहण गर्न बाँकी छ । १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमै पर्छन् । त्यस्तै अरू पाकिस्तान र चीनमा छन् ।
सगरमाथा आरोहणका क्रममा मृत्यु पर्खेर बसेका अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रवर्धनमा समेत पुर्जा सक्रिय छन्।