इटहरी । २०७२ साल आसोज ३ गते जारी भएको संविधानको परिकल्पना अनुसार नेपालमा संघिय गणतन्त्रात्मक शासन व्यवस्था लागू भयो । संघियताको अभ्यास स्वरुपमा देशमा स्थानीय तहको निर्वाचन सबैभन्दा पहिला अर्थात् २०७४ सालमा तीन चरणमा भयो ।
सुनसरीमा पनि दोस्रो चरणमा स्थानीय तहको निर्वाचन भयो । इटहरी उपमहानगरपालिकामा २०७४ सालमा १० जनाले प्रमुख अर्थात् मेयर पदमा उमेदवारी दर्ता गराएका थिए । ती मध्ये नेकपा एमालेबाट उमेदवार बनेका द्वारिकलाल चौधरी मेयर बने । प्रमुख पदको उमेदवारी दिएर चुनाव लड्नेमा दुई महिला पनि समावेश थिए ।
२०७४ सालमा भएको इटहरी उपमहानगपालिकाको चुनावनमा एमालेका चौधरीसहित नेपाली काँग्रेसका रोहित प्रसाद प्रसाइँ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोहित वहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट हरिमाया जिमी, मधेशी जनाधिकार फोरम नेपालबाट अरुन चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्र वहादुर कन्दङवा, संघीय समाजवादी फोरम नेपालबाट देवी प्रसाद खनाल, चुरेभावर लोकतान्त्रिक पार्टीबाट राम प्रसाद रेग्मी तथा ताराकुमारी काफ्ले र पानालाल चौधरीले स्वतन्त्र उमेदवारी दिएका थिए । जसमध्ये माओवादी केन्द्रकी जिमी र स्वतन्त्र उमेदवार काफ्ले महिला हुन् ।
यो निर्वाचनमा एमालेका द्वारिकलाल चौधरीले २२ हजार ६ सय ८९ मत ल्याएर इटहरीको नगरप्रमुख बनेका थिए । उनका निकतम प्रतिद्धन्दी काँग्रेसका रोहित प्रसाद प्रसाइँले १९ हजार ९ सय ८५ मत ल्याएका थिए ।
त्सपछि क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोहित वहादुर कार्कीले तीन हजार ७ सय १५ मत, माओवादी केन्द्रकी हरिमाया जिमीले तीन हजार तीन सय ६४ मत, मधेशी जनाधिकार फोरम नेपालका अरुन चौधरीले एक हजार ४ सय ३७ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्र वहादुर कन्दङवाले चार सय १६ मत, संघीय समाजवादी फोरम नेपालका देवी प्रसाद खनालले तीन सय ७० मत, स्वतन्त्र उमेदवार ताराकुमारी काफ्लेले एक सय ८१ मत, अर्का स्वतन्त्र उमेदवार पानालाल चौधरीले २२ मत र चुरेभावर लोकतान्त्रिक पार्टीका राम प्रसाद रेग्मीले ८ मत ल्याएका थिए ।