काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २२ असार (गत बुधबार) मा बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा रद्द गरेको छ । मोर्डन नेपाल कलेजले ‘प्रिबोर्ड’ का लागि लिएको प्रश्नसँग त्रिविको प्रश्न हुबहु मिलेपछि परीक्षा रद्द गरिएको हो ।
व्यवस्थापन संकाय तर्फको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहाभियर’ विषयको परीक्षा रद्द गरेको हो । त्रिविले शुक्रबार सूचना प्रकाशित गरेर लिइसकेको उक्त परीक्षा रद्द गर्ने जानकारी गराएको छ । उक्त विषयको परीक्षा १ साउनमा हुने त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जानकारी गराएको छ ।
यसअघि गत जेठमा भएको मानविकी संकायको स्नातकोत्तरतर्फको प्रथम र तृतीय सेमेस्टरको परीक्षामा हुबहु प्रश्नपत्र दोहोरिएको थियो । यी दुई सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्न दोहोरिएका हुन् । प्रश्नपत्र निर्माण प्रक्रियामा लापरबाही गरेको स्वभाविक आरोप केन्द्रीय परीक्षा सञ्चालन समितिमाथि छ । त्यति मात्रै नभएर निजी कलेजसँगको मिलेमतोअनुसार गत वर्षकै प्रश्नपत्र दोहोर्याएको विद्यार्थी संगठनहरूको आरोप छ ।
नेविसंघसहित केही विद्यार्थी संगठनले प्रश्नपत्र दोहोरिएको विषयमा निरन्तर विरोध गरिरहेका छन् । नेविसंघले २६ जेठमा मानविकी संकायका सहायक डिन र परीक्षा प्रमुख तारा भुसालको कार्यकक्षमा तालाबन्दीसमेत गरेको थियो ।
स्नातकोत्तरतर्फ मानविकी संकाय तृतीय सेमेस्टरको परीक्षामा हुबहु दोहोरिएको गत र यो वर्षको प्रश्नपत्र दोहोरिएको विषयलाई छानबिन गर्न समितिसमेत गठन भएको छ । त्रिविका प्राध्यापक घनश्याम भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएर प्रतिवेदनसमेत तयार भएको छ । तर, केन्द्रीय परीक्षा सञ्चालन समितिले उक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको छ ।
प्रश्नपत्र छानबिन समितिका संयोजक भट्टराईले केही दिन पहिले नै केन्द्रीय परीक्षा सञ्चालन समितिलाई प्रतिवेदन बुझाइ सकेको बताए ।
वार्ता समिति प्रमुख पशुपति अधिकारीले छानबिन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने बताए । परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिका कारण उक्त प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ ।