उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
आहाले रातापानीबाट उदयपुरगढीको नेपालटार धप्पर बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उदयपुरगढी गाउँपालिका–७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा त्रियुगा नगरपालिका–१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर भएकाले जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको छ ।
त्रियुगा नगरपालिका–१६ तीनपानेका २६ वर्षीय सागर कोइराला, त्रियुगा नगरपालिका–१६ रातापानीका २२ वर्षीय दिपेन सुयाल, रौतामाई गाउँपालिका–७ राजाबासका १८ वर्षीय सुस्मिता अछामे गम्भीर भएकाले विराटनगर रेफर गरिएको हो ।
अन्य घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।