बिर्तामोड । झापाको बिर्तामोडमा बरामद भएको विस्फोटक पदार्थ नेपाल भित्र्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाको संयुक्त टोलीले म्याग्दीका चिरन रोकालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आफूले ल्याएको विस्फोटक पदार्थ १८ माघमा मेचीनगर नगरपालिका–७, गैरीगाउँमा सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको थाहा पाएपछि रोका भागेर गाउँतिर पुगेका थिए ।
तर उनले विस्फोटक पदार्थ ल्याएको झोलामा भारतीय शहर सिलगुढीसम्म आएको टिकट भेटिएको थियो । साथै, म्याग्दी गएको टिकट र फोन नम्बर पनि उल्लेख थियो । त्यसैको आधारमा अनुसन्धान गरिरहेको प्रहरीले उनी गाउँ पुगेको सूचना पाएपछि त्यहाँको स्थानीय प्रहरीको पनि सहयोग लिएर पक्राउ गरेर झापा ल्याएको स्रोतको भनाइ छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका रोकाले ढुंगाखानीमा प्रयोग गर्नका लागि विस्फोटक पदार्थ लगेको बयान दिएका छन् । अधिकृतहरुका अनुसार म्याग्दी र बाग्लुङमा घरमा छाउनका लागि तयार गर्ने ढुंगाखानी छन् ।
झापामा ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहले दुई वटा शंकास्पद वस्तु राखेर स्थानीयलाई त्रसित बनाइरहेका बेला मेचीनगरमा ८० वटा डेटोरनेटर र ‘नेपोलाइट एक्सप्लोसिभ’ लेखिएको विस्फोटक पदार्थ ९१ वटा बरामद भएको थियो । त्यही आधारमा बरामद विष्फोटक पदार्थ पनि भूमिगत समूहले ल्याएको हुनसक्ने आशंका गरिएको थियो ।
तर प्रहरी अनुसन्धानले बरामद विस्फोटक पदार्थ भारतको कोइलाखानीमा काम गर्ने मजदूर रोकाले ल्याएको भेटिएको छ ।
रोकाले एक जना स्थानीयलाई एक हजार रुपैयाँ दिएर सिटी रिक्साको ब्याट्री भन्दै विस्फोटक पदार्थ कटाइदिन भनेका थिए । तर स्थानीयलाई ‘ब्याट्री त्यति हलुका नहुनुपर्ने’ लागेपछि चेन खोलेर हेर्दा तार देखिएको थियो । त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरी बललाई खबर गरेका थिए ।