शुभम् पावरले पुस ६ गतेदेखि आइपीओ बिक्री गर्ने

न्युजलय २७ मङ्सिर २०७९, मङ्गलबार ०५:२५ मा प्रकाशित

काठमाडौं ।  शुभम् पावर लिमिटेडले पुस ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो आइपीओमा आवेदन दिने अन्तिम म्याद पुस २० गतेसम्म तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।

शुमभले संखुवासभा जिल्ला चैनपुर नगरपालिकास्थित पिलुवा खोलामा ९९० किलोवाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।