काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी जवान सुन तस्करलाई सघाएको आरोपमा पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् । जवान केसी पूर्वलडाकु हुन् ।
विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । मंसिर १३ मा विमानस्थल भन्सार कार्यालयले ५० ग्रामका बाला ल्याउनेहरुसँग भन्सार महसुल लिन शुरु गरेको थियो ।
भन्सारमा सुरक्षा जाँच कडाई गरिएको थियो । त्यसैदिन ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकै आफुले लिए । अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसन्धान अधिकारीहरुले सिसिटिभी जाँच गर्दा केसीले सुन लिएको देखिएको बताइएको छ ।
पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई भन्सार ऐन अनुसार कारवाही गरिने जनाइएको छ ।