उदयपुर । उदयपुरमा कोरोना भाइरस फैलिएको छ।
संक्रमण पहिचानका लागि जिल्लाका ८ वटै स्थानीय तहले स्वास्थ्य संस्थामार्फत पछिल्लो ६ दिनयता २ सय १९ जनामा गरिएको परीक्षणमा १ सय ४३ जनामा संक्रमण देखापरेको हो।
जिल्ला स्वास्थ्य कार्यालयले तयार पारेको तथ्यांकअनुसार संक्रमित मध्ये ४९ जना महिला र बाँकी सबै पुरुष छन्। विरामी भएर आएकाहरुको कोरोना परीक्षण गर्दा जिल्ला अस्पतालमा २१ महिला र ४३ पुरुषगरी ६४ जनामा संक्रमण देखिएको हो।
त्यसैगरी त्रियुगा नगरपालिकामा ११ महिला १६ पुरुषगरी २७ जना, कटारी नगरपालिकामा ६ महिला १५ पुरुषगरी २१ जना, उदयपुरगढी गाउँपालिकामा २ महिला ५ पुरुषगरी ७ जना, बेलका नगरपालिकामा ९ महिला १४ पुरुषगरी २३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनीहरुसबै सकृय संक्रमित हुन्। उनीहरु मध्ये १ महिला र २ पुरुषगरी ३ जना कोभिड अस्पताल बेल्टारमा भर्ना भएका छन् भने बाँकी होमआईसोलेसनमा रहेको बताइएको छ । यसबीचमा कोरोनाबाट उदयपुरमा एक जनाको ज्यान गईसकेको छ।