खोटाङ । खोटाङको दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।
व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।
पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्शुबी जेभीले संरचना निर्माण गरेको हो ।
भाडाबापत मासिक न्यूनतम २ लाख ९७ हजार राजस्व संकलन गर्ने स्रोतका रूपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो । संरचनाको नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
एउटै छानामुनि नुनदेखि सुनसम्म उपलब्ध गराउने नगरको योजनाअनुसार संरचना निर्माण भएको हो । सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ ।
सपिङ कम्प्लेक्सको माथिल्लो तलाको अगाडिको भागमा बालबालिका खेल्ने स्वीमिङ पुल, कोलम्बस राइड, स्वीङ राइडलगायतका संरचना तयार पारिएको छ । जिल्लामै यस खालको संरचना निर्माण भएको यो पहिलो पटक हो ।