विराटनगर । सल्लाह नगरी मन्त्रीको टुंगो गरेको भन्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजीनामा दिने बारे सल्लाह गरिरहेको बताएका छन् ।
आइतबार मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रालय फुटाएर थपेका ८ मन्त्रीहरुमा प्रधानमन्त्री शेरबहादुर देउवा निकट सांसदहरुलाई मात्र समेटेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । उनी सपथ ग्रहणमा समेत उपस्थित भएका थिएनन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका मन्त्री कार्कीले मुख्यमन्त्री राजेन्द्र राई आफूखुसी अघि बढेको समेत आरोप लगाएका छन् । उनले आफूले नेतृत्व गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको संचार सम्बन्धी अधिकार खोसेर यातायात तथा संचार मन्त्रालय थप गरेपछि रोष व्यक्त गरेका छन् ।
कार्की डा. शेखर कोइराला निकटका नेता हुन् । मन्त्री कार्की आइतबार बेलुका सरकार विस्तारपछि बसेको मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित भएका थिए ।