घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका -७ आम्जिराङ टोलमा पशु तथा कृषि प्रदर्शन गरिएको छ ।
आज (शनिबार) हतुवागढी-७ का वडा अध्यक्ष ध्यान कुमार राईको प्रमुख आतिथ्यता उक्त प्रदर्शन तथा पुरस्कार वितरण गरिएको हो ।
माघे संक्रान्ती तथा किरात संवत् येले दोङ ५०८२ को अवसर पारेर बाहुराङ पशुपालन तथा कृषक समूहद्वारा आयोजित उक्त कार्यक्रममा तरकारी, फलफुल साथै पशुपन्छीहरु प्रदर्शन गरिएको थियो ।
स्थानीय स्तरको कृषि विकास तथा कृषकलाई उत्पादन कार्यमा उत्साहित बनाउने उद्देश्यले उक्त प्रदर्शन कार्यक्रमको आयोजना गरिएको बाहुराङ पशुपालन तथा कृषक समूहका अध्यक्ष सुमित राईले जानकारी दिए ।
समुहका अध्यक्ष राईले आगामी दिनमा पिप्ले, आम्जिराङ र छपेली टोलको केन्द्रमा सब्जी बजार सञ्चालनमा ल्याउने योजना रहेको समेत बताएका छन् ।
उक्त प्रदर्शन कार्यक्रममा स्थानीय कृषकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । कृषकले आफ्नै बारीमा उत्पादन गरेका रायो साग,आलू, टमाटर, मुला, फोक्से, केरा, फर्सी, काउली, करेला, बैगुन, धनियाको बोट प्रदर्शन स्थलमा देखिएका थिए ।
त्यस्तै नाङ्लो बनाउने सामाग्री, कुचो, माउ बाख्रा, माछा, टर्की प्रदर्शनका साथै बाहुराङ, उन्नति र गैयाराज पशुपालन तथा कृषि समूहको तर्फबाट बोका प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शन गरिएका उत्पादन मध्ये उत्कृष्ट उत्पादकलाई पुरस्कृत समेत गरिएको छ ।
पुरस्कृत हुनेहरु मध्ये माछा उत्पादनमा हरिकुमार राई, रायोको साग उत्पादनमा गोमा बस्नेत, काउली उत्पादनमा रमिला राई, फर्सी उत्पादनमा जापानमाया राई, गोलभेडा उत्पादनमा रामफुला राई र मुला उत्पादनमा डिक प्रसाद राई रहेका छन् । त्यस्तै उत्कृष्ट माउ बाख्रा प्रदर्शनमा गोपाल कार्कीलाई पुरस्कृत गरिएको स्थानीय सबिना राईले जानकारी दिइन् ।
पुरस्कृत कृषकहरुलाई कृषि उत्पादन तथा घरायसी प्रयोगको सामाग्री प्रदान गरिएको थियो ।