विराटनगर । हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएका भन्ने सूचनाका आधारमा शङ्कास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भुप्रसाद र सुरजप्रसादले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।