इटहरी । नेपाल कम्यूनिष्ट पार्टी एमाले सुनसरीको ७ औँ अधिवेशन अन्तर्गत मंगबार(आज) मतदान सुरु भएको छ ।
विहान १० बजेदेखि मतदान गर्ने भनिए पनि मतपत्रमा निर्वाचन अधिकृत गोविन्द मिश्रको हस्ताक्षर गर्न ढिलाई भएका कारण मतदान अढाइ घण्टा पछि धेकेलिएको हो ।
२१ सय ५० जना अधिवेशन प्रतिनिधि रहेकोमा ११ वटा मतपेटिकाको व्यवस्था गरिएको निर्वाचन अधिकृत मिश्रले जानकारी दिए । इनरुवाको जेल फिल्ड (खेलमैदानमा) मा मतदान भइरहेको हो ।
मतदानका लागि ४ प्रकारका ५ वटा मतपत्रको व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारी, भूगोल, क्लस्टर र दुई वटा खुल्ला सदस्यको मतपत्रको व्यवस्था गरिएको हो ।
सदस्यका आकांक्षि धेरै भएकाले दुई वटा खुल्ला सदस्यको मतपत्रको व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । पहिलो मत सह–सचिव पदका उमेदवार अर्जुन गहतराजले हालेका छन् । उनको भनाइ अनुसार एक जनालाई मतदान गर्न कम्तिमा १५ मिनेटको समय लाग्ने देखिएको छ । यहि आधारमा पनि एमाले सुनसरीको मतदान राति अबेरसम्म हुने आँकलन गरिएको छ ।
निर्वाचनलाई मर्यादित बनाउन मतदातालाई खेलमैदानको मुख्य गेट बाहिर राखिएको छ । त्यहाँबाट एक पटकका ५० जनाको दरमा मतदातालाई मतदान स्थल प्रवेश गर्ने व्यवस्था एमालेले गरेको छ । मुख्य गेटबाहिर पालो पर्खने मतदाताहरुमा उत्साह देखिएको छ । पार्टीको अध्यक्षसहित अन्य पदमा अफूले प्रत्यक्ष रुपमा भोट हाल्न पाउँदा मतदातामा उत्साह देखिएको हो ।
सुनसरीमा सचिव र विभिन्न पदमा १६ जना निरविरोध भए पनि अध्यक्षसहित अन्य पदका निर्वाचन भएको हो । अध्यक्ष पदका लागि पूर्वअध्यक्षद्वय द्वारिकलाल चौधरी र रेवतिरमण भण्डारीसहित हालका अध्यक्ष खेमराज पोखरेल मैदानमा छन् ।
यस्तै उपाध्यक्ष पदमा नन्द बस्नेत र निलम खनालले उमेदवारी दर्ता गराएका छन् । खनाल बराहक्षेत्रमा मेयर पनि हुन् । यस्तै उपसचिव र सदस्य पदका आकांक्षि पनि अधिक छन् ।