इटहरीका कलाकार दिनेश कोइराला साउथ इण्डियन फिल्ममा देखिँदै

न्युजलय २३ बैशाख २०८१, आइतबार ०१:५० मा प्रकाशित

इटहरी । ५३ सालमा द कमाण्डो नामक फिल्ममा बाल कलाकारको रुपमा अभिनय थालेका इटहरीका दिनेश कोइराला निकै सम्भावना बोकेका प्रतिभावान कलाकार हुन् । लामो समयदेखिको उनको अभिनय लगावले भर्खरमात्र स्तरीय चलचित्रहरुमा ठाउँ पाउन थालेको छ । ठूलो रोल नपाएपनि उनले आफूले पाएका हरेक रोललाई न्याय दिएका छन् ।


‘मिराज’, ‘झिल्के’, ‘म पर्खिरहन्छु’, ‘फेक फ्रेन्ड’, ‘राम साइली’, ‘अभियान’ हुँदै उनले ‘छक्का पन्जा ४’ र ‘पशुपती प्रसाद २ र भष्मेडन’ जस्ता स्तरीय फिल्ममा अभिनय गरिसकेका छन् । चलचित्रका बाबजुद म्युजिक भिडियोमा पनि उनी रुचाइएका छन् । धेरै प्रकारका चरित्रमा अभिनय गरेर म्युजिक भिडियोहरुमार्फत् आफूलाई प्रमाणित गरिसकेका कोइरालाले हालैमात्र दक्षिण भारतीय फिल्ममा अभिनय गरेको खुलेको छ ।


कोइरालाले हैदरावादमा एक साउथ इण्डियन फिल्ममा अभिनय गरेर फर्किएका हुन् । अडिसनबाट छनोट भएका उनले उनले उक्त फिल्मका लागि हिन्दी भाषामै सात ओटा सिनमा अभिनय गरेका छन् । फिल्मको बारेमा थप जानकारी केही समयपछि सार्वजनिक हुने कोइरालाले बताएका छन् ।


शिक्षामा सिएमए पढेका उनले आर्मीको मेडिकल डिपार्टमा समेत जागिर खाएका थिए ।