‘ब्ल्याकमेल’ गरी यौन शोषण गरेको आरोपमा विराटनगरबाट एक पुरुष पक्राउ

न्युजलय २८ पुस २०८०, शनिवार ०८:५४ मा प्रकाशित

विराटनगर । सामाजिक सञ्जालमार्फत नजिक भएर ‘ब्ल्याकमेल’ गर्दै नेपाली युवतीहरूमाथि बारम्बार यौन शोषण गरेको आरोपमा विराटनगरबाट एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरको छ ।

पक्राउ पर्नेमा भारतको जोगवनीका २६ वर्षीय रवि कुमार रहेका छन् ।विराटनगरको महेन्द्र चोकबाट उनलाई शुक्रबार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

पीडित युवतीबाट उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जरबजस्ती करणीको जाहेरी परेको आधारमा प्रहरीले पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो। काठमाडौं प्रहरीले मोरङ प्रहरीसँगको समन्वयमा रवि कुमारलाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म १५ जनाभन्दा बढी नेपाली युवतीलाई ट्रयापमा परिसकेको खुलेको छ।

प्रहरीका अनुसार उनले त्यसरी नै ‘ब्ल्याकमेल’ गर्दै ट्रयापमा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए। तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन्।

काठमाडौं प्रहरी परिसरले जबरजस्ती करणी मुद्दा चलाउन उनीमाथि थप अनुसन्धान अगाडि बढाउने जनाएको छ ।