काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार कीर्तिपुर –६ पाण्डेछापमा मादक पदार्थ सेवन गरी दुई छोराले आफ्नै बुवामाथि कुटपिट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले ६५ वर्षीय न्हुच्छे महर्जनको हत्या गरेको आरोपमा उनका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको छ।
छोराहरूले बुवामाथि प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरासन्न हुने गरी प्रहार गरेका थिए। दुई छोराको कुटपिटबाट बुवा गम्भीर घाइते भएका थिए। यसअघि पनि उनीहरू पटकपटक झगडा गरिरहने गरेको प्रहरीले जनाएको छ।
सो खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले घाइतेको उपचारको लागि वीर अस्पताल काठमाडौंमा पठाएको थियो।
त्यहाँ उपचारको क्रममा राति महर्जनको मृत्यु भएको हो। घटनामा संलग्न रहेका छोराहरूमाथि वृत्तले अनुसन्धान गरिरहेको छ।