सिमकोट । हुम्लाको हवाई यातायात सेवा अवरुद्ध भएको छ। बिहानैबाट हावाहुरी र बतास चलेपछि हवाई सेवा अवरुद्ध भएको हो।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको जानकारी दिए। बिहान चार बजेबाट सिमकोट प्रवेश गर्ने क्षेत्र मारघोर र सिमकोटमा निकै हावाहुरी लागेको थियो। उनले बिहानैबाट उडान भर्ने तयारी गरे पनि हावाहुरीले उडान हुन नसकेको जानकारी दिए।
यसबाट नेपालगञ्ज र सुर्खेतबाट हुने उडान अवरुद्ध भएका छन्। हवाई सेवा अवरुद्ध भएपछि नेपालगञ्जबाट आउने यात्रु, कार्गो सामान र खाद्यान्न ढुवानी हुन सकेको छैन भने जिल्लाबाट बाहिर जाने यात्रुसमेत रोकिएका छन् । हाल सिमकोट विमानस्थलमा नेपालगञ्ज र सुर्खेतबाट दैनिक १२ देखि १५ वटासम्म उडान हुने गरेका थिए। जसमा तारा, समिट, तारा र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्।