काठमाडौँ । एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
शुक्रबार बिहान पुनः गठबन्धनको बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । संसद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।
बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको कोसिस गर्ने भन्दै १० बजेका लागि बैठक तय भएको हो ।
बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
बिहीबारको बैठकमा राष्ट्रिय जनमोर्चालाई भने बोलाइएको थिएन । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवसमेत सहभागी थिएनन् ।
शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसको जोडबल छ ।