इटहरी । किरात राई सुम्निमा संघ इटहरी उपमहानगर कार्यसमितिको अध्यक्षमा वन्दना राई चयन भएकी छन् ।
शनिबार सुम्निमा संघ जिल्ला समिती सुनसरीको भवनमा सम्पन्न संघको दोस्रो नगर अधिवेशनबाट वन्दना राई पुनः अध्यक्षतामा १७ सदस्यीय समती निर्वाचित गरिएको हो ।
त्यस्तै नवगठित समितिको उपाध्यक्षमा कल्पना राई, सचीवमा कृष्ण राई, सह(सचीवमा सुस्मिता राई र कोषाध्यक्षमा लिला राई चयन भएका छन् ।
किरात राई सुम्निमा संघ सुनसरी जिल्ला अध्यक्ष सीता राईको प्रमुख आतिथ्यतामा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा कल्पना राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सुम्निमा संघ इटहरी अध्यक्ष वन्दना राईले प्रगती प्रतिवेदन र कोषाध्यक्ष लिला राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुम्निमा संघ जिल्ला अध्यक्ष सीता राईले संघको आफ्नै भवनमा नगरको अधिवेशन गर्न पाउँदा निकै गर्व महसुस भएको बताइन् ।
उनले भाषा संस्कार संस्कृतिको संरक्षण तथा किराती महिलालाई सक्षम बनाउन सुम्निमा संघले महत्त्वपूर्ण भुमिका खेल्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्च प्रदेश १ अध्यक्ष माया राई, किरात राई विद्यार्थी संघ केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख चन्द्र किराती, किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती, किरात राई यायोख्खा इटहरीका कार्यवाहक अध्यक्ष हेमन्त राई, किरात राई यायोख्खा इटहरी ५र७ अध्यक्ष सागर चाम्लिङ राई, किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी(मोरङ अध्यक्ष वसन्त राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा किरात राई यायोख्खा तथा सुम्निमा संघका जिला, नगर तथा वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।