इनरुवा । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ मा कार्यक्रम स्टेज र चार वटा स्कारपीयोमा आगजनी भएको छ ।
बर्जु महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी फिल्म क्षेत्रका गायक तथा नायक खेसारीलाल यादव आउने कार्यतालिका थियो । सोहि अनुसार आयोजकले टिकटसमेत विक्रि गरेका थिए । तर कार्यक्रमको अन्तिमसम्म पनि खेसारीलाल नआएपछि आक्रोसित बनेका स्थानीयले स्टेज र ४ वटा स्कारपीयोमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।
आगजनी भएका ४ वटै स्कारपीयो भारतीय नम्बर प्लेटका रहेका छन् । स्टेज र स्कारपीयोमा आगजनी गर्नेको सम्बन्धमा खोजी जारी रहेको र हालसम्म पक्राउ नपरेको सुनसरीका प्रहरी प्रमुख संजय सिंह थापाले जानकारी दिए ।
खेसारीलाल सुनसरी आइपुगे पनि स्थानीय प्रशासनले कोरोना महामारीकलाई मध्यनजर गरेर कार्यक्रम स्थलमा पुग्न नदिएको बताइएको छ । गत पुस २३ गतेदेखि जारी महोत्सव रोक्न जिल्ला प्रशासन कार्यालय सुनरीले पत्रचार गरे पनि महोत्सव रोकिएको थिएन ।
यता आयोजकले भने यस अघि नै गाउँपालिकाको वडा नम्बर ६ को चिमडीमा पुस २३ देखि ४ गतेसम्म महोत्सव गर्न अनुमति लिएकाले पत्राचार गरे पनि कार्यक्रम स्थगित नगरेको जानकारी दिएको छ ।