उर्लाबारीमा मोटरसाइकल दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडका चिकित्सकको मृत्यु

न्युजलय १२ भदौ २०८०, मङ्गलबार ०५:३० मा प्रकाशित

मोरङ । उर्लाबारीमा मोटरसाइकल दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तरगत उर्लाबारीमा मंगलबार(आज) बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डा.यादवको मृत्यु भएको हो।

आज बिहान यादवले चलाएको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका सप्तरी तेरहौता ५ घर भएका २८ वर्षीय डा. यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।