नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि

न्युजलय २३ बैशाख २०८१, आइतबार ०६:३२ मा प्रकाशित

 काठमाण्डौ । नेपाल सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले असन्तुष्टि जनाएको छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको टिप्पणी गरेका छन् ।

हिजो भुवनेश्वरमा भारतीय पत्रकारसँगको अन्तरक्रियामा विदेशमन्त्री जयशंकरले नेपालको पछिल्लो निर्णयले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया दिएका हुन् । 

गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठलले एक सय रुपैयाँको नोटमा रहेको पुरानो नेपालको नक्सा हटाएर नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भू–भाग समेटिएको नयाँ नक्सा जारी गरेको थियो ।