गाउँमा विद्यार्थी नभएपछि विद्यालय बन्द

न्युजलय ८ असोज २०८०, सोमबार ०६:१८ मा प्रकाशित

काठमाडौं । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नभएपछि विद्यालय बन्द भएको छ । 


हुम्लाको नाम्खा गाउँपालिका ६ को हिमालपारीको गाउँ लिमीको जाङगाउँको भृकुटी आधारभुत विद्यालयमा विद्यार्थी नभएपछि बन्द भएको हो ।


कक्षा पाँचसम्म अध्ययन हुने उक्त विद्यालयमा गत वर्षसम्म बीस भन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएका थिए । आवश्यकता अनुसार विद्यालय भवन, शौचालय, शिक्षक सङ्ख्या भएपनि विद्यार्थी नभएकै कारण विद्यालय बन्द गर्नु परेको हो । गाउँका अधिकांश स्थानीय काठमाडौं बसाई सर्न थालेको कारण विद्यार्थी ‍पनि उतैतिर लागेकाले गाउँमा विद्यार्थी सङ्ख्या नभएकोले गाउँकै सहमतिमा विद्यालय बन्द गरिएको हो । 


विद्यालय बन्द गर्ने निर्णय भएपछि उक्त विद्यालयमा दरबन्दीमा रहेका दुई जना शिक्षक मध्य एक जना लिमी कै हल्जी गाउँ सुनखानी आधारभुत विद्यालयमा र अर्को एक दरबन्दीलाई नाम्खा गाउँपालिका २ को तातोपानी आधारभुत विद्यालयमा काजमा खटाइएको छ । 


यसअघि लिमीको तील गाउँको आधारभुत विद्यालय पनि विद्यार्थी नभएकै कारण बन्द गरिएको थियो । अब भृकुटी बन्द भएसंगै नाम्खा गाउँपालिकामा विद्यालय सङ्ख्या पनि १६ मा झरेको छ ।