काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत आज नेपाल सेमिफाइनल प्रवेशका लागि क्यानडासँग भिड्दै छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा आज अपारह्न ३ः४५ बजे नेपाल र क्यानडाको खेल हुनेछ। नेपाल तेस्रो खेलमा पनि जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
यसअघि भएका दुवै खेलमा नेपालले जित हासिल गरेको छ। पहिलो खेलमा आयोजक ओमनलाई ३९ रनले पराजित गरेको थियो। न्युन स्कोरको खेलमा नेपाली बल चम्किँदा सहजै जितको थियो।
त्यस्तै, दोस्रो खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो। जसमा भुर्तेलले शतक र ऐरीले अर्ध शतक प्रहार गरेका थिए।
दुवै खेल जितेको नेपालले ४ अंकसहित समूहको शीर्षस्थानमा छ। त्यस्तै, दुई खेलमा एक जित र एक हार ब्यहोरेको क्यानडा २ अंकसहित दोस्रो स्थानमा छ।
आयोजक ओमन पनि एक जित र एक हारसहित २ अंक जोडेर रनरेटको आधारमा तेस्रो स्थानमा छ। फिलिपिन्सले भने दुवै खेल हारेको छ।
आजको खेल जितेमा नेपाल समूहको शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्नेछ। क्यानडासँग हारेमा पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहनेछ। त्यसका लागि नेपालको हारको अन्तर कम हुनुपर्नेछ।
फिलिपिन्सले ओमनलाई पराजित गरेमा पनि नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। फिलिपिन्स र ओमनको खेल पनि आजै अपराह्न ३ः४५ बजे हुनेछ।