इटहरी । १७ वर्षअघि दिपेश क्षेत्री अमेरिकामा जन्मँदा उनको परिवार अमेरिका बस्न थालेको दुई वर्ष भएको थियो । जन्मले अमेरिका भएपनि रगतले उनी नेपाली हुन् । उनको परिवार सुनसरीको इटहरीबाट अमेरिका पुगेको हो । त्यसैले उनलाई नेपालको माया छ र उनले अमेरिकामा पाएको शिक्षा र अनुभव नेपालमा बाँड्ने गरेका छन् ।
क्यालिफोर्नियाको कुपेर्टिनो भन्ने ठाउँमा बस्ने दिपेश अहिले कक्षा १२ मा पढ्छन् । उनीहरु बसेको ठाउँ विज्ञान, आविष्कार अनि प्रविधिको लागि विश्वमै प्रख्यात सिलिकन भ्यालीअन्तर्गत पर्छ । यो ठाउँमा एप्पल, गुगल, फेसबुक, टेस्ला आदि दर्जनौं कम्पनिका कार्यालय छन् ।
बुवाको पेशा, आमाको प्रेरणा अनि ठाउँको प्रभावले होला, दिपेश पनि प्रविधिमा औधि रुची राख्छन् । भविष्यमा प्रविधिकै क्षेत्रमा काम गर्ने योजना बनाएका उनले आफूले पाएको ज्ञान नेपालीहरुलाईसमेत बाँड्ने गरेका छन् ।
उनले केही समयअघि म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ स्थित पाउद्वार माविका विद्यार्थीहरुलाई प्रविधिको अवस्था र आवश्यकता अनि प्रविधिको प्रयोग गरेर कसरी रोजगार बन्ने भन्ने विषयमा भर्चुअल प्रशिक्षण दिएका थिए । उनले गुगल मिटमार्फत् भिडियोकलबाट विद्यार्थीहरुलाई अनुभव र जानकारी बाँडेका थिए ।
उनले खाडी देशमा शारीरिक श्रम गर्ने पुस्तालाई अब प्रविधिमा रुची राख्ने पुस्ताले आराम दिनुपर्ने बताउँदै गर्दा सहभागिहरु उत्साहित भएका थिए । प्रविधिको प्रयोग गरेर काम गर्ने हो भने धेरै आम्दानी गर्न सकिने सम्भावना छ । अहिले इन्टरनेटको कारण त्यस्ता ठाउँहरुमा पहुँच बढिरहेको बताउँदै उनले राज्यले पनि प्रविधिको विकासमा सहयोग गर्नुपर्ने बताएका थिए ।
‘भारतलाई हेरौं,, जहाँ प्राविधिक उद्योग फस्टाइरहेको छ र त्यहाँ प्रविधि जानेका जनशक्तिको उच्च माग छ,’ उनले भने, ‘त्यस्तो दक्षता विकास गर्न तालिम लिनुपर्छ, जुन अनलाइन पनि लिन सकिन्छ ।’
उनको प्रस्तुतीबाट सहभागि विद्यार्थीहरु खुसी भएको र विद्यार्थीहरु प्रविधितर्फ प्रोत्साहित भएको स्कुलकी प्रधानाध्यापक विनादेवी तिलिजा पुन ले बताइन् । अमेरिकाको सिलिकन भ्यालीबाट आफ्नो विद्यालयका बालबालिकाहरुलाई प्रविधिबारे जानकारी मिलेको र अन्तक्र्रिया गराउन पाउनु प्रविधिकै उपलब्धी भएको भन्दै खुसी व्यक्त गरिन् ।
प्रविधिबारे सबैले जानकारी राख्नुपर्ने बताउँदै नेपालको आर्थिक विकास गर्न प्रविधिको सहयोग लिनुपर्नेमा दिपेशको जोड छ । उनले अन्य स्कुलहरुबाटसमेत यस्तो प्रेजेन्टेसनको माग भइरहेको बताउँदै आफूले सकेसम्म समय निकाल्ने र विद्यार्थीहरुदेखि विभिन्न पेशा व्यवशायमा आबद्धहरुलाईसमेत आफ्ना अनुभव र ज्ञान बाँड्ने बताएका छन् ।