महिला टिम टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल यूएईसँग पराजित

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०८:५२ मा प्रकाशित

 काठमाण्डौ  । नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्न असफल भएको छ । एसिया छनोट अन्तर्गत आइतवार(आज) भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

ग्लोबल छनोटमा पुग्न नेपालले आज यूएईलाई फराकिलो अन्तरले हराउनुपर्ने थियो । यूएईले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाइन् । अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

यसअघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । यूएईका लागि चमानी सेनेविरत्नाले ५२ र तीर्था सतिसले ४७ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई,  सीता राना मगर र संगीता राईले एकरएक विकेट लिए ।