उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

न्युजलय १२ बैशाख २०७९, सोमबार १२:३८ मा प्रकाशित

काठमाडौं । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् ।


निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् ।

 

आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ । चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ ।


भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ । बुधबार र बिहीबार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।