वीरगन्ज हेल्थकेयर अस्पतालमा आगलागी हुँदा करोडौंको क्षति

न्युजलय १७ बैशाख २०७९, शनिवार ०२:२८ मा प्रकाशित

वीरगन्ज । वीरगन्ज महानगरपालिका १४ गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा विद्युत सर्ट भएर आगलागी हुँदा करोडौंको क्षति भएको छ। अस्पतालको तेस्रो तल्लामा रहेको डायलोसिस शाखामा शुक्रबार राति ९ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हो। 

 

आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसीन ६ वटा, भेन्टिलेटर २ वटा, कार्डियेक मोनिटर ६ वटा र बेड ६ वटा जलेर नष्ट हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सन्चालक डाक्टर अबुल हैयश अन्सारीले बताए। आगलागीका बेला डायलोसिस शाखामा बिरामी र स्वास्थ्यकर्मी नभएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए। 


शुक्रबार राति ९ बजेतिर हावाहुरीसँगै पानी परिरहेका बेला चट्याङ पनि खसिरहेकाले चट्याङकै कारण डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगो  वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको मदतमा अग्नि नियन्त्रक र प्रहरीले मिलेर निभाएको उनले बताए।