इटहरी । सुनसरीको बर्जु गाउँपालिकामा हिजो भएको घटनाको सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । बर्जुमा हिजो भोजपुरी कलाकार खेसरीलाल यादव नआएको भन्दै स्थानीयले स्टेज तथा गाडीमा आगजनी गरेका थिए । सोहि घटना सम्बन्धमा छानविन गर्न सुनसरी सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरिएको हो ।
छानविन समितिमा पौडेलसहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटरका सहायक प्रहरी नायव उपरिक्षक मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
गत पुस २३ गतेदेखि सुरु भएको बर्जु महोत्सवमा जिल्ला प्रशासनले नै अनुमति दिए पनि कोरोना महामारी भयावह भएको भन्दै गत माघ २ गते महोत्सव रोक्न गाउँपालिकालाई पत्राचार गरे पनि नरोकिएको उनको भनाइ छ । प्रशासनको सम्यमताका कारण कुने मानविय क्षति नभएको उनको जिकिर छ । आगलागीबाट कतिको क्षति भयो भन्ने यकिन जानकारी प्रशासनले खुलाएको छैन । छानविन समितिको प्रतिवेदन आएपछि क्षतिको विवरण सार्वजनीक गरिने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
यद्यपी कलाकार यादवले भने आफ्नो झण्डै डेढ कारोड बराबरको क्षति भएको बताएका छन् ।