विराटनगरका औषधि व्यवसायी हत्या आरोपमा पत्नी र प्रेमीलाई जन्मकैद

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०२:२१ मा प्रकाशित

विराटनगर । इटहरीका औषधि व्यावसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या गरिएको घटनामा दुई जनालाई जन्मकैदको सजाय सुनाइएको छ । सुनसरीको इटहरी १२ खनार घर भएका दुलालको सुतेकै ठाउँमा २०७७ साल जेठ ४ गते राति हत्या भएको थियो । उनले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।

जिल्ला अदालत मोरङले दुलालकी पत्नी ३३ वर्षीया मीना श्रेष्ठ (दुलाल) र मीनाका प्रेमी सिरहाको लाहान ११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको फैसला गरेको हो । 

घटनाको मतियारका रूपमा मुद्दा चलाइएका इटहरीका २० वर्षीय सोनुकुमार साहको कसूर अदालतले कायम गरेको छ । उनलाई सजाय निर्धारणका लागि पछि छुट्टै सुनुवाइ हुने सूचना अधिकारी बुढाथोकीले बताए । 

औषधि व्यावसायी दुलाल र मीनाबीच ११ वर्षअघि प्रेम विवाह भएको थियो । योजना बनाएर मीनाले आफ्ना प्रेमी ब्रह्मदेवसँग मिलेर सुतेका बेला प्लाष्टिकको डोरीले घाँटी कसेर ओछ्यानमै पतिको हत्या गरेका थिए । 

ब्रह्मदेव ४ वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे । पत्नी मीनासँग हिमचिम बढाएको चाल पाएर उनले ब्रह्मदेवलाई कामबाट निकालिदिएका थिए ।