विराटनगरमा उपप्रमुखमा उम्मेदवारी दिएकी कार्कीविरुद्ध उजुरी

न्युजलय १४ बैशाख २०७९, बुधबार ०२:२५ मा प्रकाशित

विराटनगर । स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निरौला (कार्की) विरुद्ध उजुरी परेको छ।


सोमबार महानगरको उपप्रमुख पदमा मनोनयन दर्ता गराएकी उनीविरुद्ध मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

 

जनता समाजवादी पार्टी महानगर कमिटीका अध्यक्ष अमरेन्द्र यादवले कार्कीविरुद्ध उजुरी हालेका हुन्। उनीमाथि विराटनगरस्थित कोशी अस्पतालको अस्पताल विकास समितिमा रही कार्य सम्पादन गर्दै आएको आरोप छ।

 

विराटनगररस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीबारे पुष्टि गरेको छ। उजुरीमा भनिएको छ, ‘विराटनगरस्थित कोशी अस्पतालको विकास समितिको सदस्य कायम रहँदा रहँदै महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको हुनाले उम्मेदवारी खारेजीको माग गर्दछु।’


‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७९’ ले सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरि कुनै लाभको पद धारण गरेको व्यक्ति निर्वाचनमा उम्मेदवार उठ्न नपाउने व्यवस्था गरेको छ।


तर, महानगरको उपप्रमुख पदको उम्मेदवार रहेकी कार्कीले उक्त निर्देशिको हितविपरीत मनोनयन दर्ता गराएको जसपा महानगर कमिटी अध्यक्ष अमरेन्द्र यादवले बताएका छन्। कार्कीको उम्मेदवारी खारेज हुनुपर्ने उनको माग छ ।