मोरङ । लागूऔषध बिक्री गर्दै आएका दुई जना औषधि व्यवसायीसहित नौ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका १० विराटचोकस्थित नेती फर्माका सञ्चालक स्थानीय ४५ वर्षीय शुसील काफ्ले र डे-ड्रिम मेडिसिन सेन्टरकी सञ्चालिका स्थानीय ३२ वर्षीया गोमा कार्की रहेका छन् ।
पक्राउ परेका काफ्ले र कार्की दम्पती रहेको प्रदेश १ प्रहरी विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले बताए ।
त्यस्तै, उक्त पसलबाट लागूऔषध खरिद गरी प्रयोग गर्दै आएका सुन्दरहरैंचा १ का २३ वर्षीय सनम खवास, वडा नं.१० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ, वडा नं.का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेस परियार र ३४ वर्षीय अनूप खड्कालाई पक्राउ गरेको छ ।
अनधिकृत रुपमा महँगोमा औषधि बिक्रीवितरण गर्दै आएको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगरका आरआईटी समूह र इलाका प्रहरी बेलबारीको संयूक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राईले बताए ।
दुवै पसलबाट प्रहरीले स्पासपेन ४४ हजार ३७०, एन्टी कफ १७ हजार ६२०, न्यूरिन ७५ ट्याब्लेट १८ हजार ९२३, प्री-जेड ७५ ट्याब्लेट १ हजार २ सय, अपाब्लिन ७५ ट्याब्लेट १४ हजार ६ सय चक्की बरामद भएको उनले बताए । उनीहरूको अनुसन्धान भइरहेको उनले बताए ।