टिकटक बनाउने भन्दै पठाओ राइडरकै मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०१:०७ मा प्रकाशित

काठमाडौ । पठाओ राइडरको मोटरसाइकल चोरेर भाग्ने तीन जना पक्राउ परेका छन् । यात्रु बनेर सुरुमा मोटरसाइकल चढेका व्यक्तिले चिनजान गरेर ‘टिकटक बनाउँछु’ भन्दै मोटरसाइकल चोरेर भागेका थिए । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० घर भएका १८ वर्षीय निशान सापकोटाले मोटरसाइकल चोरी गरेका हुन् । काठमाडौंबाट चोरेको मोटरसाइकल उनले सिन्धुपाल्चोकको मेलम्चीमा लगेर बेचेको खुलेको छ । उनले यसअघि पनि यसरी नै मोटरसाइकल चोरी गर्ने गरेको बताइएको छ । 

प्रहरीले मुख्य आरोपी निशान सापकोटा, मेलम्चीमा ‘रावल लेथ एण्ड इन्जिनियरिङ वर्कशप’ सञ्चालन गर्ने ३२ वर्षका रामचन्द्र रावल र सिन्धुपाल्चोक इन्द्रावतीका पुस्कर काफ्लेलाई पक्राउ गरेको छ । 

काठमाडौंबाट निशानले चोरेको मोटरसाइकल रामचन्द्र रावलले पाटपुर्जा खोलेर बेच्ने गर्थे । निशानले यसअघि पनि तीन वटा मोटरसाइकल चोरी गरीसकेको प्रहरीले जानकारी दिएको छ । 

मोटरसाइकलको पाटपुर्जा निकालेर बेचेपछि आरोपीहरुले च्यासिस र इन्जिन नम्बर मेटेर कवाडीलाई बेच्ने गरेका थिए । आरोपीहरुलाई थप अनुसन्धानका लागी प्रहरी वृत बौद्धमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।