काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्ने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा गअनुसार आवेदन प्राप्त नभए असार २९ गतेसम्म आवेदन दिने समय थप गरिने बताइएछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने जारीपूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ८७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाखपुग्नेछ । आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माण कार्यसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ ।
कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशतशेयर हिस्सा रहने छ ।