मेची राजमार्ग जीर्ण

न्युजलय १४ फाल्गुण २०७८, शनिवार ०२:१४ मा प्रकाशित

झापा । मेची राजमार्ग जीर्ण अवस्थामा पुगेको छ । ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम फिदिम, इलाम हुँदै झापाको चारआली जोड्ने २६८ किलोमिटर लामो  सडक अधिकांश स्थानमा भत्किएको छ। 

पाँचथरको राँके–फिदिमखण्डको दर्जनौं स्थानमा सडक भत्किएका छन् । फिदिम–काबेलीखण्डमा गाडी गुडाउनै समस्या हुनेगरी सडकको बीच भागमा खाल्डाखुल्डी छन् ।  

कात्तिक पहिलो साता पहिरो झर्दा सयौं स्थानमा सडक भत्किएपनि हालसम्म मर्मत हुन सकेको छैन । पहिरो पन्छाएर तत्कालका लागि सडक सुचारु गरिए पनि पूर्ण रूपमा सडक मर्मत नगरिँदा जोखिम बढेको हो । 

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्ग संरक्षण र मर्मतको जिम्मा लिएको छ । बिग्रिएको सडक मर्मतमा डिभिजन कार्यालयले चासो नदेखाउँदा जीर्ण अवस्थामा पुगेको राजमार्गमा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरू बताउँछन् । पाँचथरखण्डको मर्मत गर्न गत वर्ष नै ठेक्का लागेको सडक डिभिजन कार्यालयले जनाएको छ। तर, हालसम्म सडक मर्मत भएको छैन।