काठमाण्डौ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङ पथरी घर भइ भक्तपुर सल्लाघारी बस्दै आएका २७ वर्षीय प्रकाश लिम्बु हुन् ।
मंगलबार राति तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश–३–०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो।
ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको बताइएको छ । चालक र टिपरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको छ।