काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दा आज सुनुवाइ हुँदैछ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सन्दीपविरूद्धको मुद्दा अन्तिम बहसका लागि पेशी चढेको हो।
न्यायाधीश ढकालको इजलासमा सन्दीप विरूद्धको मुद्दा तेस्रो नम्बर छ।
न्यायाधीश ढकालले यो मुद्दामा अन्तिम बहस सुरू गर्ने भएभने सुरूमा सरकारी वकिल र जाहेरीवाला वकिलहरूले बहस गर्नेछन्। त्यसपछि सन्दीप लामिछानेका वकिलहरूले बहस गर्नेछन्।
यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिएपनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।
यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाइसकेपछि आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।