इटहरीको मेयरमा एमाले र काँग्रेसको भिडन्त

शंकर खत्री १४ बैशाख २०७९, बुधबार ०१:१२ मा प्रकाशित

सुनसरी । प्रदेश १ को सुनसरी जिल्लामा दुई उपमहानगरपालिका छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा यी दुवै उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवार विजयी भएका थिए । इटहरी उपमहानगरको मेयरमा एमालेका द्वारिकलाल चौधरी र उप–मेयरमा एमालेकै लक्ष्मी गौतम विजयी भएका थिए । सो निर्वाचमा इटहरीमा २० वडा मध्ये एमालले १२ वडाका वडाध्यक्षसहितका पदाधिकारीमा जित हासिल गर्दा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका रोहित प्रसाद प्रसाई र उप–मेयरमा उम्मेदवारी दिएकी विमला सिवाकोटी भने पराजित भएका थिए ।


यो पटकको निर्वाचनमा पनि प्रमुख पदमा एमाले र काँग्रेस बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 


एमालेको तर्फबाट इटहरीको मेयरमा यामकुमार सुब्बाले उमेदवारी दर्ता गराएका छन् भने काँग्रेसबाट यस अघिको निर्वाचनमा पनि आकाँंक्षी रहेका हेमकर्ण पौडेलले मेयर पदमा उमेदवारी दर्ता गराएका छन् । पाँच दलिय गठबन्धनको भागवण्डा अनुसार इटहरीको मेयर काँग्रेसको भागमा परेको थियो । काँग्रेसले इटहरीको मेयर पाउने चर्चा चलेपछि मुख्यतः यस अघिको निर्वाचनमा पराजीत उमेदवार प्रसाई, अहिले उमेदवारी दर्ता गराएका पौडेल र इटहरीका व्यवसायी भिमबहादुर पौडेलले मेयरको टिकटका लागि लविङ सुरु गरेका थिए । अन्ततः सोमबार मध्यान्ह १ बजे काँग्रेसले इटहरीको मेयरमा पौडेललाई उठाउने निर्णय गर्दै टिकट दियो । प्रदेश कमिटि विराटनगरमा भएको छलफलले पौडेललाई मेयरको उमेदवार बनाएको हो ।


एमालेमा भने चार जनाले प्रमुख पदमा आकांक्षा देखाएका थिए । अहिले मेयरमा मनोनयन दर्ता गराएका सुब्बा, हालका मेयर द्वारिकलाल चौधरी, हालकै उपमेयर लक्ष्मी गौतम र इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले मेयरमा इच्छा देखाएको थिए । तर पार्टीले भने सुब्बालाई मेयरको टिकट दिएको हो । यस अघिको निर्वाचनमा पनि नाम सिफारीस भएर टिकट नपाएको र अहिले पनि त्यहि प्रणाली दोहोरीएको भन्दै चौलागाईले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए । एमालेका उमेदवार बनेका सुब्बा झैण्डै एक दशकदेखि पार्टीको इटहरी अध्यक्षको जिमेवारीमा रहिरहेएका छन् । 


इटहरीको मेयर पदमा केहि स्वतन्त्र र स्थानीय तथा राष्ट्रिय स्तरका पार्टीले पनि उमेदवारी दर्ता गराएका छन् । तर, यसअघि भएका निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने इटहरीमा ती दलको खासै मतभार छैन । त्यसैले यो पटक पनि इटहरीको मेयरमा एमाले र काँग्रेसबिच घम्साघम्सि हुने निश्चित भएको छ । 


उमेदवारी दर्तापछि बोल्दै एमालेका उमेदवार सुब्बाले एमालेको संगठन मजबुद भएकाले इटहरीमा यो पटक पनि एमालेले नै ‘लिड’ गर्ने दावी गरे । ‘जनताको मन–मनमा बसेको । जनाधारा ठूलो भएको । जनआस्था भएको पार्टी हो’, मेयरका उमेदवार सुब्बाले भने, ‘त्यसका साथसाथै यसको सबैभन्दा ठूलो आधार भनेको यसको संगठन हो । नेकपा एमालेको संगठन, टोलटोलसम्मको संगठन हुन्छ । त्यसैले त्यो टोलटोलमा आवद्ध हुने कार्यकर्ताहरु जनतासँग ‘नङ्ग मासू’ सम्बन्ध राखेर काम गरिहरेका हुन्छन् । यो आधारमा नेकपा एमालेले इटहरीमा जित्छ ।’ 


यसका साथै कम्यूनिष्ट आन्दोलको सबैभन्दा शक्तीशालि र मुलधारको पार्टी भएका कारण पनि चुनाव जित्नेमा उनको आत्मविश्वास छ । यस्तै यस अघिको सरकारले पनि जनअपेक्षीत काम गरेकाले पनि यो पटक इटहरीमा एमालेले जित्ने उनको तर्क छ । ‘इटहरीको संदर्भमा भन्नुपर्दा विगतको हाम्रो नेतृत्वको सरकारले गरेका कामहरु, गरेका जति पनि प्रगति उन्नितीहरु छन् यो पनि हामीले जित्ने आधार हो’, उनले भने । जनाधार नै नभएका पार्टीसँग भएको एकताले एमालेलाई कुनै अप्ठ्यारो नपर्ने उनको तर्क छ । अहिले इटहरीमा भएको गठबन्धनले एमालेलाई झन् फाइदा पुगेको उनको भनाई छ । अस्तित्व नभएका पार्टीले ‘ढाडस’ देखाएर एमालेलाई असर नपर्ने उनको भनाइ छ । 


यता काँग्रेसले भने यो पटक आफूमा जनाधार बढी भएकाले जित्ने दावी गरेको छ । देश अप्ठ्यारो अवस्थामा पुगेको समयमा गठबन्धन भएको भन्दै काँग्रेसबाट इटहरीको मेयरमा उमेदवार बनेका पौडेलले अब देश बनाउन जनताले गठबन्धनका उमेदवारलाई जिताउने दावि गरेका छन् । एमालेतर्फ कटाक्ष गर्दै उनले देशभर वेथिति भएको सरकार विस्थापीत गरेर गठबन्धनको सरकार बनेको बताए । इटहरीको गाउँ पञ्चायत हुँदादेखि अघिल्लो निर्वाचनमा एमालेले जित्दै आएको थियो । यहि कुरालाई उकेरा लगाउँदै उनले पटक पटक एमालेले जिते पनि इटहरीका जनताले हारिहरेको बताए । ‘इटहरीमा ३० औँ वर्षदेखि स्थानीय तहमा एउटा राजनैतिक दल निर्वाचित भइरहेर इटहरीले हारिरहेको स्थिति छ’, मेयरका उमेदवार पौडेलले भने, ‘एउटा दलले जितिरहन्छ । इटहरीका जनता हारिहरेका छन् । यस पटकको गठबन्धनको नेतृत्वमा हामीले विजय प्राप्त गरेपछि यहाँका प्रत्येक नागरिकलाई जिताउने हाम्रो संकल्प छ ।’ उनले इटहरीका अधिकांस वडासहित मेयर र उपमेयर पद नै गठबन्धनका उमेदवारले जित्ने दावी गरे ।


यता उपमेयरमा पनि एमालेले गठबन्धनभित्रकै दलसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । यसअघि आफ्नै पार्टीमा रहेका र हाल नेकपा (एकीकृत समाजवादी)मा गएका केशवकुमार विष्टसँग एमालेकी संगिता चौधरीले इटहरीको उपमेयरमा प्रतिस्पर्धा गर्ने भएकी छन् । गठबन्धनबाट उपमेयरमा उमेदवारी दिएका विष्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पुर्व सदस्य सचिव पनि हुन् । 


यता चौधरी भने पार्टीको भातृसंगठन अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य हुन् । चौधरी गठबन्धनले महिलाको प्रतिनिधित्व नै सुनिश्चित नगरेकाले आफ्नो जित पक्का रहेको दावी गर्छिन् । आफू गाउँका नागरिकसँग नजिकबाट चिनजानमा रहेकाले पनि जित्ने उनको दावी छ । यस अघिका सम्पूर्ण निर्वाचनमा एमालेले नै जितेको स्मरण गराउँदै उनले यो पटक पनि प्रमुख र उपप्रमुख एमालेकै पोल्टोमा आउने दावी गरिन् ।