४५ किलो गाँजासहित विराटनगरबाट एक जना पक्राउ

न्युजलय १९ पुस २०८०, बिहिबार ०५:४२ मा प्रकाशित

विराटनगर । विराटनगरमा लुकाएर राखेको ४५ किलोग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– १८ को सीमावर्ती क्षेत्रको खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो । सो गाँजा राखेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीले भारत कटाउनका लागि भण्डारण गरेको गाँजासहित यादवलाई पक्राउ गरेको जानकारी दिएको छ ।

विराटनगर–१८ झटियाईस्थित मुसहरी टोलको नयाँ बस्तीबाट गाँजा बरामद भएको हो । प्लाष्टिकमा प्याक गरी खेतमा परालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको थियो । लगत्तै यादव पक्राउ परेका हुन् ।

बरामद भएको गाँजा र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रहरीले यादव भरिया भएको बताएको छ ।